२०८३ आश्विन ९, शुक्रबार

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान

देशभर झरी, पश्चिमतिर वर्षा बढ्ने : ३८ जिल्लामा बाढीको उच्च जोखिम

मौसम विज्ञान विभाग
देशभर झरी, पश्चिमतिर वर्षा बढ्ने : ३८ जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण खोला तथा नदीमा बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाँदा सडक तथा राजमार्गसमेत प्रभावित भएका छन्।

मौसमविद्का अनुसार उक्त प्रणाली अहिले नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतर्फ सर्दै गएको छ। त्यससँगै पश्चिमी भूभागमा वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही कम हुने सम्भावना रहे पनि पश्चिमी भूभागमा शुक्रबार रातिदेखि वर्षा बढ्दै जाने देखिएको छ।

यसअघि बुधबारदेखि नै गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा वर्षा भइरहेको थियो। अब वर्षाको प्रभाव सुदूरपश्चिमसम्म विस्तार हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनीका केही स्थानमा असोज ९ देखि ११ गतेसम्म भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाएको छ।

महाशाखाको जोखिम नक्सामा विभिन्न भूभागलाई जोखिमको अवस्थाअनुसार पहेँलोदेखि रातोसम्मको संकेत दिइएको छ। रातो संकेत गरिएको क्षेत्रमा बाढी, पहिरो तथा अन्य मौसमी विपद्को जोखिम रहेकाले पूर्वतयारी र प्रतिकार्य आवश्यक पर्न सक्ने जनाइएको छ।

३८ जिल्लामा बाढीको उच्च जोखिम

निरन्तरको वर्षासँगै बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको छ।

असोज १० गते भने बाढीको उच्च जोखिम रहेका जिल्लाको संख्या थप बढ्ने अनुमान गरिएको छ। नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा उच्च जोखिम रहेको जनाइएको छ।

आइतबारदेखि पनि सातै प्रदेश भएर बहने साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।

यसैबीच, मौसम विज्ञान विभागले सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

लगातारको वर्षाका कारण जमिन भिजिसकेको अवस्थामा थप वर्षा हुँदा बाढी, पहिरो, डुबान र सडक अवरुद्ध हुने जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस