२०८३ आश्विन २०, मंगलबार

अंश फिर्ता

दोस्रो विवाह गरेकै कारण अंश फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्चद्वारा खारेज

दोस्रो विवाह
दोस्रो विवाह गरेकै कारण अंश फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्चद्वारा खारेज

२० असोज, काठमाडौं । एकल महिलाले दोस्रो विवाह गरेमा पहिलो श्रीमान्को सम्पत्तिबाट पाएको अंश फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४ को उपदफा २ मा रहेको उक्त व्यवस्था संविधानसँग बाझिएको ठहर गर्दै खारेज गरेको हो ।

महिला कानून तथा विकास मञ्चसहित तीन संस्थाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

मुलुकी देवानी संहिताको दफा २१४(२) मा विधवाले अर्को विवाह गरेमा अंशबापत पाएको सम्पत्ति अघिल्लो पतितर्फका छोराछोरीले र छोराछोरी नभएमा स्वयं विधवाले लिन पाउने व्यवस्था गरिएको थियो ।

उक्त व्यवस्थाले एकल महिलाले दोस्रो विवाह गरेपछि पहिलो पतिबाट प्राप्त गरेको अंशमाथिको अधिकारमा असर पार्ने भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

संविधानका तीन धारासँग बाझिएको निष्कर्ष

सर्वोच्च अदालतले देवानी संहिताको उक्त प्रावधान नेपालको संविधानको धारा १६, १८ र २५ सँग बाझिएको निष्कर्ष निकालेको छ ।

संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ ले समानताको हक र धारा २५ ले सम्पत्तिको हक सुनिश्चित गरेको छ ।

सर्वोच्चले एकल महिलाले दोस्रो विवाह गरेकै आधारमा पहिले वैधानिक प्रक्रियाबाट प्राप्त गरिसकेको अंश फिर्ता गर्नुपर्ने व्यवस्था महिलाको समानता तथा सम्पत्तिको अधिकारमाथि असंगत प्रतिबन्ध भएको ठहर गरेको हो ।

संवैधानिक इजलासले उक्त व्यवस्थाले हरेक व्यक्तिलाई विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रतासमेत कुण्ठित गर्ने अवस्था सिर्जना गरेको उल्लेख गरेको छ ।

‘दोस्रो विवाह गर्न निरुत्साहित गर्ने अवस्था आउँछ’

फैसलाको पूर्णपाठमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्थाले एकल महिलालाई आर्थिक रूपमा कमजोर बनाउने र दोस्रो विवाह गर्न निरुत्साहित गर्ने अवस्था आउने उल्लेख गरिएको छ ।

सर्वोच्चले यस्तो व्यवस्था समानताको सिद्धान्तविपरीत रहेको भन्दै सम्पत्तिको हकको दृष्टिले असंगत र अस्वाभाविक कानुनी प्रतिबन्ध भएको ठहर गरेको छ ।

वैधानिक प्रक्रियाबाट निरपेक्ष स्वामित्व स्थापित भइसकेको अंश एकल महिलाले दोस्रो विवाह गरेकै कारण वा उनको वैवाहिक स्थितिमा परिवर्तन भएकै कारण अघिल्लो पतिको छोराछोरीको नाममा फिर्ता गर्न लगाउन नमिल्ने सर्वोच्चको निष्कर्ष छ ।

फैसलामा यस्तो बन्देज लगाउनु संविधानको धारा २५ ले प्रत्याभूत गरेको सम्पत्तिको हकको सारभूत मर्ममाथिको प्रहार हुने उल्लेख गरिएको छ ।

पुरानो अधिकार खोस्न नहुने सर्वोच्चको ठहर

सर्वोच्च अदालतले विगतको कानून वा व्यवस्थाले प्रदान गरिसकेको अधिकार वा सुविधालाई पछि बनेको कानुनले खोस्न, हटाउन वा घटाउन नसक्ने पनि स्पष्ट गरेको छ ।

संहिताको उक्त व्यवस्था संविधानका साथै महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिका प्रावधानसँग समेत प्रतिकूल रहेको सर्वोच्चको निष्कर्ष छ ।

तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको संवैधानिक इजलासले २१ वैशाख २०८३ मा उक्त व्यवस्था खारेज गर्ने फैसला गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस