२०८३ आश्विन २२, बिहिबार

दुर्घटना

धनगढीमा चेकिङका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

तीन प्रहरी घाइते
धनगढीमा चेकिङका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

२२ असोज, धनगढी । धनगढीमा संयुक्त सवारी चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी हवलदार उज्जवल सिंह साउद, सहायक हवलदार राधिका शाही र कमला खत्री रहेका छन् । उनीहरूको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

डीएसपी तिमिल्सिनाका अनुसार ट्राफिक प्रहरीसहित नेपाल प्रहरीको पेट्रोल पम्प नजिकै संयुक्त सवारी चेकजाँचमा खटिएका प्रहरीलाई कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बस्ने आशिष चौधरीले चलाएको से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

मापसे गरेर तीव्र गतिमा मोटरसाइकल चलाइरहेका चौधरीलाई चेकिङका क्रममा रोक्न खोज्दा उनले प्रहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते प्रहरी हवलदार साउदलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । सहायक हवलदार खत्रीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । उनको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्की घाइते सहायक हवलदार राधिका शाहीको जनरल वार्डमा उपचार भइरहेको छ ।

घाइते तीनै जना प्रहरी धनगढीस्थित गणमा कार्यरत रहेको बताइएको छ । उनीहरू थप मद्दतका लागि संयुक्त चेकजाँचमा खटिएका थिए ।

मोटरसाइकल चालक चौधरीलाई प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस