
असोज १ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडकमा ट्रयाक खोल्ने काम पूरा भएपछि काठमाडौंंतर्फ ग्यास बुलेट पास हुन थालेका छन्।
पहिरोका कारण सडक अवरुद्ध भएपछि रोकिएका ग्यास बुलेटलाई प्राथमिकताका साथ काठमाडौंंतर्फ पठाउन थालिएको हो। सडकमा ट्रयाक खुलेसँगै लामो समयदेखि रोकिएका अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने तयारी गरिएको छ।
कृष्णभीरमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक विभाग तथा सम्बन्धित निकायले मेसिन र जनशक्ति परिचालन गरेका थिए। लगातारको प्रयासपछि ट्रयाक खोल्ने काम पूरा भएको हो।
ग्यास बुलेट काठमाडौंंतर्फ जान थालेपछि उपत्यकामा देखिएको एलपी ग्यास आपूर्ति समस्यामा केही सहजता आउने अपेक्षा गरिएको छ। सडक पूर्ण रूपमा सहज बनाउन भने थप काम भइरहेको जनाइएको छ।
सडक अवरोधका कारण रोकिएका अन्य सवारीसाधनलाई समेत अवस्था हेरेर क्रमशः गन्तव्यतर्फ पठाइने बताइएको छ।