
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो।
विस्फोटमा परी काभ्रेको ढुङ्खर्क गाउँपालिका–९ घर भएका अन्दाजी २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्न गजुरीबाट प्रहरी टोली खटिएको छ। विस्फोट भएको वस्तु के थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।