
२६ असोज, नवलपरासी । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको बस सोमबार बिहान अनियन्त्रित भएर सडकमा पल्टिएको हो।
प्रहरीका अनुसार बिहान करिब ७:३० बजे सु.प्र.०१–००१ ख २३३० नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामीको बायाँ गाला र नाकमा सामान्य चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, अछामको साफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थीको दायाँ कुहिनामा सामान्य चोट लागेको छ। सोही ठाउँका ४८ वर्षीय धनञ्जय जोशीले ढाड दुखेको बताएका छन्। उनको शरीरमा बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्काको दायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
बसका चालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक रहेको प्रहरीले जनाएको छ। चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरणमा उल्लेख छ।