२०८३ आश्विन ७, बुधबार

हमाल अगाडि, उप्रेती दबाबमा

नेपाली कांग्रेस धुनिवेशीमा अधिवेशनको सरगर्मी: हमालको पल्लाभारी, उप्रेतीलाई विरासत जोगाउन चुनौती

२१७ मतदाताले छान्ने नयाँ सभापति
नेपाली कांग्रेस धुनिवेशीमा अधिवेशनको सरगर्मी: हमालको पल्लाभारी, उप्रेतीलाई विरासत जोगाउन चुनौती

९ आश्विन, धुनिवेशी /नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा धादिङको धुनिवेशी नगरपालिकामा पनि अधिवेशनको सरगर्मी बढेको छ। नगर सभापति पदका लागि हालका सभापति तथा उपप्रमुख सुरज उप्रेती, वडा नं. ३ का अध्यक्ष प्रकाश हमाल र नगर उपसभापति माधव प्रसाद सिलवालबीच प्रतिस्पर्धा हुने चर्चा छ।

पार्टीभित्रको पछिल्लो राजनीतिक समीकरणमा प्रकाश हमालको नाम बलियो दाबेदारका रूपमा चर्चामा रहेको छ। १४औँ महाधिवेशनमा आफूले सुरज उप्रेतीलाई सहयोग गरेको भन्दै यसपटक नेतृत्व परिवर्तन हुनुपर्ने धारणा हमाल पक्षको रहेको बताइन्छ।

स्रोतका अनुसार सुरज उप्रेती र प्रकाश हमालबीच सहमति गराउने प्रयास केही नेताहरूले गरिरहेका छन्। यता माधव सिलवाल पनि आफू प्रतिस्पर्धामा रहेको बताउँदै प्रतिनिधिहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्।

प्रकाश हमालको बलियो स्थानीय आधार

२०७४ सालको स्थानीय तह निर्वाचनमा धुनिवेशी–३ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी हुने एकमात्र वडा अध्यक्षका रूपमा प्रकाश हमाल परिचित छन्। २०७९ सालमा पनि उनी पुनः निर्वाचित भएका थिए। स्थानीय तहमा निरन्तर जनसमर्थन र संगठन निर्माणका कारण उनी बलियो उम्मेदवारका रूपमा हेरिएका छन्।

माधव सिलवालमाथि विश्वासको संकट

धुनिवेशी–९ बाट निर्वाचित माधव प्रसाद सिलवाल नेपाली कांग्रेस धुनिवेशीका उपसभापति हुन्। २०७४ मा निर्वाचन हार व्यहोरेका सिलवाल २०७९ मा गठबन्धनको समर्थनमा निर्वाचित भएका थिए। पार्टीभित्र विभिन्न समयमा अन्य दलहरूसँग निकटता बढाएको आरोप लागेपछि केही नेताहरू उनीप्रति सशंकित रहेको स्रोतको दाबी छ।

उप्रेतीलाई विरासत जोगाउने चुनौती

हालका नगर सभापति सुरज उप्रेती १४औँ महाधिवेशनमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व जिल्ला सभापति भरतप्रसाद उप्रेतीका भतिज हुन्। पार्टीको संगठन विस्तार र नेतृत्व निरन्तरताका लागि आफूलाई पुनः अवसर दिनुपर्ने उनको पक्षको तर्क छ।

तर पार्टी गतिविधि र अवसर वितरणमा आफ्ना निकट व्यक्तिलाई प्राथमिकता दिएको आरोप उनीमाथि लाग्दै आएको छ। यसले आगामी निर्वाचनमा चुनौती थपिएको विश्लेषण गरिन्छ।

२१७ प्रतिनिधिले छान्नेछन् सभापति

धुनिवेशी नगरपालिकाका ९ वडाबाट २०८ प्रतिनिधि तथा ९ वडा सभापति गरी कुल २१७ मतदाता रहनेछन्।

वडा प्रतिनिधि संख्या
वडा नं. १ २३
वडा नं. २ २३
वडा नं. ३ २३
वडा नं. ४ १६
वडा नं. ५ २३
वडा नं. ६ २३
वडा नं. ७ ३१
वडा नं. ८ २३
वडा नं. ९ २३

सबैभन्दा बढी ३१ प्रतिनिधि रहेको वडा नं. ७ लाई निर्णायक क्षेत्रका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यही वडाको मतले अन्तिम परिणाम प्रभावित गर्न सक्छ।

साविक जीवनपुर र क्षेत्रदेउराली क्षेत्रबाट ११३ प्रतिनिधि तथा साविक नौबिसे क्षेत्रबाट १०४ प्रतिनिधि रहेका छन्। हमालले आफ्नो प्रभाव क्षेत्रसँगै नौबिसे क्षेत्रबाट पनि मत तान्न सके चुनावी समीकरण आफ्नो पक्षमा पार्न सक्ने अनुमान गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस