
१६ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले संरचनागत तथा व्यवस्थापकीय सुधार नगरी निगममा थप जहाज भित्र्याउनुको औचित्य नरहेको बताएका हुन् ।
उनले निगमको प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै संस्थाको साख उकास्न नसकिने बताए ।
‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो,’ उनले भने, ‘तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन, राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ ।’
मन्त्री पौडेलले नेपाल वायुसेवा निगम नाफा कमाउने संस्था मात्र नभई राष्ट्रिय गौरव र राष्ट्रिय ध्वजावाहक भएकाले यसको सुधारका लागि कठोर निर्णय लिनुपर्ने समय आएको बताए ।
उनले निगमको ऋणको भार घटाउने, इक्विटी बढाउने र अत्यधिक ब्याजदर पुनरावलोकन गर्न सरकार तथा सम्बन्धित निकायले गम्भीर पहल गर्नुपर्ने बताए ।
‘जहाज थप्ने, लिजमा लिने र फ्लीट आधुनिकीकरण गर्नुपर्छ । वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनामै ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय योजना तत्काल बनाउनुपर्छ,’ उनले भने ।
निगमको विद्यमान समस्या समाधानका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा लैजाने सरकारको नीति रहेको पनि मन्त्री पौडेलले जानकारी दिए । यस विषयमा व्यापक सार्वजनिक बहस आवश्यक रहेको उनको भनाइ छ ।
विगतमा कोभिड–१९ को समयमा निगमको ब्याजलाई पुँजीकरण गरिएको विषयमा टिप्पणी गर्दै उनले त्यसलाई ‘मिटरब्याज सरह’को व्यवहार भएको बताए ।
मन्त्री पौडेलले निगमको व्यवस्थापकीय कमजोरीतर्फ समेत ध्यानाकर्षण गराउँदै संस्थामा प्रभावकारी जनशक्ति योजना, मार्केटिङ तथा परिचालन रणनीतिको अभाव रहेको उल्लेख गरे ।