
१९ असोज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार २० अंकभन्दा बढीले घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २० दशमलव ४८ अंकले घटेर २ हजार ५६६ दशमलव ७६ विन्दुमा झरेको हो ।
नेपाल धितोपत्र बोर्डले ५ प्रतिशतभन्दा धेरै सेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था गरेपछि बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । यसअघि साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से परिसूचक ११ अंकले घटेको थियो ।
सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म नकारात्मक अवस्थामा रह्यो । नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
सोमबार नेप्सेमा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । शुक्रबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
केही दिनअघि धितोपत्र बोर्डले अन्य क्षेत्रका कम्पनीका संस्थापकले लकइन अवधि सकिएपछि सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न पूर्वस्वीकृतिको व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले लगानीकर्ताको मनोबल कमजोर बनाएको बजारका सरोकारवालाहरूले बताउँदै आएका छन् ।
बोर्डको उक्त व्यवस्थामाथि पुनर्विचार गर्न प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले समेत बोर्डलाई निर्देशन दिएको छ । तर, सोमबारको कारोबारले लगानीकर्ताको मनोबलमा सुधार आएको संकेत देखाएन ।
यस्तै, लाभांशको सिजन भएकाले सेयर मूल्य समायोजनका कारण पनि बजार सूचक नकारात्मक हुन योगदान पुगेको बताइएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका ३५९ कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
सोमबार अधिकांश समूहगत परिसूचक घटेका छन् । बैंकिङ समूह १० दशमलव ७३, विकास बैंक २९ दशमलव १६, वित्त २४ दशमलव ३६, होटल ७३ दशमलव २८, जलविद्युत् ३६ दशमलव ९५, लगानी १ दशमलव ०१, जीवन बीमा ९३ दशमलव ८१, उत्पादनमूलक १०४ दशमलव ५१, लघुवित्त २७ दशमलव २४, निर्जीवन बीमा ६० दशमलव ९९ र अन्य समूह १६ दशमलव ६७ अंकले घटेका छन् ।
तर, व्यापार समूह भने १० दशमलव ७१ अंकले बढेको छ ।
सोमबार नेप्सेमा ३५९ कम्पनीका ४४ हजार ७७७ पटकको कारोबारबाट ३ अर्ब २७ करोड रुपैयाँ बराबरको करिब ९० लाख कित्ता सेयर खरिद–बिक्री भएको छ ।
यो कारोबार रकम गत साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा कम हो । शुक्रबार नेप्सेमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।