२०८३ आश्विन ५, सोमबार

अस्पताल स्तरोन्नति, घुस आरोप

पद्म नर्सिङ होम स्तरोन्नति प्रकरणमा छानबिन समिति गठन

पद्म नर्सिङ होम प्रकरण
पद्म नर्सिङ होम स्तरोन्नति प्रकरणमा छानबिन समिति गठन

असोज ५ । पोखरास्थित पद्म नर्सिङ होमलाई शय्या स्तरवृद्धिको अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।

प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरेको छ। अस्पतालको स्तरवृद्धि अनुमति दिने क्रममा अनियमितता भएको आरोपमा निवर्तमान स्वास्थ्य मन्त्री, सचिव तथा कर्मचारीहरूको नाम जोडिएपछि प्रदेश मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनका अनुसार स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अस्पताल सञ्चालन अनुमति तथा स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा गठन गरिएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

यसैगरी, अस्पताल स्तरोन्नति प्रकरणमा थप अनुसन्धानका लागि प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ।

प्रकरण अनुसन्धान तथा छानबिनकै क्रममा रहेकाले अनियमितताको विषय स्पष्ट नभएसम्म अस्पतालको स्तरवृद्धिका लागि दिइएका निर्णय कार्यान्वयन तत्कालका लागि स्थगित गरिएको प्रदेश सरकारले जनाएको छ।

निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. बसौलाले अस्पताल स्तरोन्नतिका क्रममा २५ लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। आरोप सार्वजनिक भएपछि नेकपा एमालेको संसदीय दलले पनि छुट्टै छानबिन समिति गठन गरेको छ। प्रमुख सचेतक देवका पहारीको संयोजकत्वमा समिति गठन गरिएको हो।

यद्यपि, आरोप लागेका व्यक्तिहरूले भने आफूहरूमाथि लगाइएको आरोप खण्डन गर्दै आएका छन्।

पद्म नर्सिङ होमले हाल सञ्चालनमा रहेको ५० शय्यालाई विस्तार गरी १ सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति मागेको थियो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस