२०८३ आश्विन ७, बुधबार

आइचर दुर्घटना

परेवाटार–मास्टार सडकमा मालवाहक आइचर पल्टियो, चालक सामान्य घाइते

परेवाटार–मास्टार सडक दुर्घटना
परेवाटार–मास्टार सडकमा मालवाहक आइचर पल्टियो, चालक सामान्य घाइते

धादिङ, ७ असोज । धादिङबेसीबाट पृथ्वी राजमार्ग जोड्ने परेवाटार–मास्टार सडकखण्डअन्तर्गत अमनटार बालुवाखानी मोडमा मालवाहक आइचर दुर्घटना भएको छ।

नारायणगढबाट तोरी लिएर धादिङबेसीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६–ख २८७८ नम्बरको आइचर सडकमा पल्टिएको हो। दुर्घटनामा सवारी चालक सामान्य घाइते भएका छन्।

स्थानीय राजाराम खतिवडाका अनुसार सडकको उकालो र खाल्डाखुल्डीका कारण गाडीले लोड तान्न नसकेपछि ब्याक भएर दुर्घटना भएको हो। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सडकको अवस्था निकै जीर्ण रहेकाले तत्काल स्तरीय मर्मत गर्न स्थानीयले माग गरेका छन्।

फुर्केखोलाको पुल बगेपछि वैकल्पिक मार्ग

भदौ १० गते आएको बाढीले फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेसी जोड्ने वैकल्पिक मार्गका रूपमा परेवाटार–मास्टार सडक प्रयोग हुँदै आएको छ।

सदरमुकाम जोड्ने महत्वपूर्ण मार्ग भए पनि सडकको मर्मतसम्भारमा सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको स्थानीयको गुनासो छ।

बाढीपछि सडक विभागले केही स्थानमा मर्मत गरे पनि अधिकांश खण्डमा अझै सहज रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था नरहेको चालकहरू बताउँछन्।

सडक साँघुरो, उकालो तथा ठाउँ–ठाउँमा खाल्डाखुल्डी रहेकाले ठूला तथा मालवाहक सवारीसाधन आवतजावतमा जोखिम बढेको उनीहरूको भनाइ छ।

समयमै सडक सुधार गर्न स्थानीयको माग

हाल सामान्य दुर्घटना भए पनि सडकको अवस्था समयमै सुधार नगरिए भविष्यमा ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयले वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको सडकको तत्काल स्तरीकरण तथा मर्मत गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सडक सुधार भए मात्रै बाढीका कारण मुख्य मार्ग प्रभावित हुँदा वैकल्पिक बाटोका रूपमा यसको सुरक्षित प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस