
२३ काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी जारी गरेको छ । ती क्षेत्रका बासिन्दालाई मौसमको पछिल्लो अवस्था बुझेर सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मौसमविद् माधवी सिग्देलका अनुसार शुक्रबार देशका अधिकांश भूभागमा मौसम बदली रहेको छ । हिमाली तथा पहाडी क्षेत्रसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ । अन्य तराई क्षेत्रमा आंशिक बदलीसँगै हुस्सु लाग्ने क्रम जारी रहेको उनले बताइन् ।
सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
दार्चुलामा सबैभन्दा धेरै वर्षा
विभागका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित धरमपानी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ६१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै, पोखराको मालेपाटनस्थित केन्द्रमा ४८.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
यस अवधिमा बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जानकारी गराएको छ ।
छ प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना
विभागको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका ३० देखि ५० प्रतिशत स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
रातिको समयमा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका १० देखि ३० प्रतिशत स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपात वा वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने राति मौसम सफा रहने र बिहानपख हुस्सु लाग्न सक्ने अनुमान गरिएको छ ।
कृषि र यात्रामा सतर्कता अपनाउन आग्रह
मध्यमदेखि भारी वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने मौसमविद् सिग्देलले बताएकी छन् । उनले मौसमसम्बन्धी आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालबाट नियमित रूपमा अद्यावधिक जानकारी लिन आग्रह गरेकी छन् ।
वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा यात्रा गर्ने यात्रु तथा कृषि कार्यमा संलग्न व्यक्तिलाई मौसमको अवस्था ख्याल गर्न विभागले सुझाव दिएको छ । सम्भावित वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।