२०८३ आश्विन २७, मंगलबार

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृ#त्यु, ३० जना घाइते

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृ#त्यु, ३० जना घाइते

२७ असोज, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार बिहान भएको रेल दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

कराँचीबाट पेशावरतर्फ गइरहेको रहमान बाबा एक्सप्रेस मुल्तानस्थित शेर शाह पुलनजिकै पटरीबाट खसेको हो। प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा रेलका सबै १४ वटा डिब्बा पटरीबाट खसेका छन्। घटनापछि उद्धारकर्मी र प्रहरी परिचालन गरिएको छ। घाइतेहरूलाई उपचारका लागि मुल्तानस्थित निस्थार अस्पतालमा भर्ना गरिएको छ।

उद्धार तथा राहत कार्य जारी रहेकाले दुर्घटनामा भएको क्षतिको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रधानमन्त्री सरिफद्वारा दुःख व्यक्त

रेल दुर्घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुःख व्यक्त गरेका छन्। उनले उद्धार कार्य तीव्र बनाउन तथा घाइतेहरूलाई तत्काल उचित उपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। सम्बन्धित निकायले घटनाको अनुसन्धान गर्ने अपेक्षा गरिएको छ।

पाकिस्तानमा यसअघि पनि भएका छन् ठूला रेल दुर्घटना

पाकिस्तानमा यसअघि पनि ठूला रेल दुर्घटना भएका छन्। सन् २०२३ को अगस्टमा सिन्ध प्रान्तको नवाबशाहनजिकै हजारा एक्सप्रेस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।

उक्त दुर्घटनापछि पाकिस्तानको रेल सुरक्षा, पूर्वाधार र मर्मतसम्भार व्यवस्थामाथि प्रश्न उठेका थिए। पछिल्लो दुर्घटनाले पनि पाकिस्तानको रेल यातायात सुरक्षाबारे चासो बढाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस