
पोखरा । पद्म नर्सिङ होमलाई १ सय शय्याको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन भएको आरोपबारे नेकपा एमालेले छानबिन समिति गठन गरेको छ।
अस्पतालको क्षमता विस्तारका क्रममा तत्कालीन स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलामाथि आर्थिक लेनदेनको आरोप लागेको हो। ३० लाख रुपैयाँसम्मको लेनदेनबारे बार्गेनिङ भएको दाबी सार्वजनिक भएको थियो।
आरोपितहरूले भने लेनदेन अस्वीकार गरेका छन्। पौडेलले रकमबारे कुराकानी भएको स्वीकार गरे पनि आफूले रकम नलिएको बताएका छन्। पाण्डेले पनि आफूले कुनै रकम नलिएको र मापदण्ड पुगेको अस्पताललाई कानुनअनुसार अनुमति दिनुपर्ने पक्षमा आफू रहेको बताएका छन्। सचिव बसौलाले पनि रकम मागेको आरोप अस्वीकार गरेका छन्।
घटनाको तथ्य–सत्य पत्ता लगाउन एमाले प्रमुख सचेतक देवका पहारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा वेदबहादुर गुरुङ र धनञ्जय दवाडी सदस्य छन्।
समितिलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको एमालेले जनाएको छ।