
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा सडक पुनः भासिएपछि ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ।
शुक्रबार बिहान करिब ६ः१५ बजे सडक थप भासिएपछि उक्त स्थानबाट ठूला सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साना सवारीसाधन तथा मोटरसाइकल भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने अवस्था रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि गत भदौ ३१ गते सोही स्थानमा सडक भासिएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएको थियो। पछिल्लो समय पुनः सडक थप भासिएपछि राजमार्गको अवस्था जोखिमपूर्ण बनेको हो।
सडकको अवस्था बुझ्न तथा सवारी आवागमन व्यवस्थापनका लागि ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
निरन्तरको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिने जोखिम बढेको छ। त्यसैले राजमार्ग भएर यात्रा गर्ने यात्रुले सम्बन्धित निकायबाट जारी हुने पछिल्लो सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने देखिएको छ।