
१४ असोज, धादिङ । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा सडक अवरोध भएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थप पहिरो तथा अन्य अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।
वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको थियो । सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने काम गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालयले सडकखण्डमा थप पहिरो वा अन्य अवरोध नआएको अवस्थामा निर्धारित समयदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने जनाएको छ ।
राजमार्ग सञ्चालनमा आएपछि काठमाडौंलाई धादिङ हुँदै चितवन, पोखरा तथा देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य सडकमार्गमा रोकिएका सवारीसाधन सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
यद्यपि, वर्षा जारी रहेकाले सम्भावित पहिरो तथा सडकको अवस्थालाई ध्यानमा राखी यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।