
२३ असोज, पोखरा । पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–२८ स्थित ओख्लेभीर भन्ने ठाउँबाट बस करिब दुई सय मिटर तल खसेको हो ।
मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।
घटनाबारे थप विवरण संकलन गर्न प्रहरी टोली अस्पताल पुगेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको कारण तथा मृतक र घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको छ ।