२०८३ आश्विन २४, शनिबार

सडक दुर्घटना

पोखरा स्कुल बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो, दुई जनाको विवरण आउन बाँकी

पोखरा स्कुल बस दुर्घटना
पोखरा स्कुल बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो, दुई जनाको विवरण आउन बाँकी

२३ असोज, पोखरा । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने विद्यार्थी, बस चालक र उद्धारमा खटिएका प्रहरीसहित घाइते भएका छन् ।

ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस ओख्लेभीर क्षेत्रमा दुर्घटनामा परेको थियो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।

प्राप्त विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो । मृतक अन्य दुई जनाको पहिचान भने खुल्न बाँकी रहेको छ ।

मृत्यु हुनेमा दुई विद्यार्थी र एक सर्वसाधारण

अस्पतालबाट प्राप्त विवरणअनुसार मृत्यु हुनेमा ममता तिवारी र अशिम कँडेल रहेका छन् । दुवैको उमेर अनुमानित १२ देखि १४ वर्ष रहेको छ ।

त्यस्तै, पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ । उनी बाटोमा यात्रा गर्ने क्रममा बससँग लिफ्ट मागेर सवार भएको बताइएको छ ।

अस्पतालले बिहान ८:३५ बजे उनीहरूको मृत्यु घोषणा गरेको विवरणमा उल्लेख छ । दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ ।

गण्डकी अस्पतालमा उपचाररत घाइते

गण्डकी अस्पतालमा प्राप्त विवरणअनुसार अस्मी कँडेल (१५) गम्भीर घाइते भएकी छन् । पोखरा–२८ निवासी उनको टाउको र ढाडमा चोट लागेको छ ।

मध्यम घाइते हुनेमा पोखरा–२८ निवासी स्नेहा गौतम (१४), सोनिया तिवारी (१३) र अंकित पराजुली (१३) रहेका छन् ।

त्यस्तै, मादी गाउँपालिका–१२ निवासी स्मृती खत्री (१५), स्नेहा तिवारी (१६), आकृती बुढाथोकी (१४), मेरिना तिवारी (१५), सुप्रिया आचार्य (१४) र यमन मगर (१६) पनि घाइते भएका छन् । उनीहरू सबैको टाउकोमा चोट लागेको विवरणमा उल्लेख छ ।

बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते भएका छन् । उनको ढाड र छातीमा चोट लागेको छ ।

गण्डकी मेडिकल कलेजमा तीन विद्यार्थीको उपचार

गण्डकी मेडिकल कलेजमा पोखरा–२८ सौर्य निवासी १६ वर्षीया सृष्टि तिवारी, सोही क्षेत्रका १६ वर्षीय शिसन थापा मगर र पोखरा–२८ डाँडागाउँ निवासी १६ वर्षीय सौगात तिमिल्सिनाको उपचार भइरहेको छ ।

कक्षा १० मा अध्ययनरत उनीहरू मध्यम घाइते रहेको र बोल्न सक्ने अवस्थामा रहेको विवरणमा उल्लेख छ ।

सृष्टिको टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट लागेको छ । शिसनको टाउको, ढाड र दुवै हातमा तथा सौगातको टाउको, ढाड र दुवै खुट्टामा चोट लागेको जनाइएको छ ।

उद्धारमा खटिएका प्रहरी पनि घाइते

दुर्घटनास्थलमा उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस