२०८३ आश्विन १०, शनिबार

बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह काठमाडौं फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ स्वदेश फिर्ता

१० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह शनिबार केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेका थिए।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दो संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। उनले जलवायु संकट सिर्जनामा नेपालको योगदान न्यून भए पनि नेपालजस्ता मुलुकले त्यसको ठूलो मूल्य चुकाउनुपरेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए।

drishtinepal
त्यस्तै, उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, पहाडी भूभाग अस्थिर बन्ने तथा बाढी–पहिरोको जोखिम बढिरहेको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। जलवायु न्याय, विपद्पछिको पुनर्निर्माण र हिमाली क्षेत्रको जोखिम न्यूनीकरणका विषयसमेत उनले उठाएका थिए।
प्रधानमन्त्री शाहको यो भ्रमण प्रधानमन्त्री बनेपछि भएको पहिलो औपचारिक विदेश भ्रमण थियो। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्ता गरेका थिए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस