
१४ असोज, काठमाडौं । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको यात्रुवाहक विमानमा दुई पाइलटबीच ‘उग्र’ विवाद भएपछि विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएको छ । घटनापछि विमानबाट अपहरणको संकेत दिने आपत्कालीन कोड प्रसारण भएपछि केही समय सुरक्षा त्राससमेत उत्पन्न भएको थियो ।
उडान ट्र्याकिङ विवरणअनुसार विमान केही मिनेटको अन्तरालमै करिब ३४ हजार फिटको उचाइबाट घटेर १६ हजार ६ सय फिट आसपासमा पुगेको थियो । त्यसपछि विमानबाट आपत्कालीन संकेतसमेत प्रसारण भएको थियो ।
घटनाबारे एक इजरायली अधिकारीले विमान अपहरण नभएको र विमानभित्र चालक दलका सदस्यबीच भएको आन्तरिक विवादका कारण असामान्य अवस्था सिर्जना भएको बताएका छन् ।
विमानले उडानका क्रममा ‘७५००’ आपत्कालीन कोड प्रसारण गरेपछि विमान अपहरण भएको आशंका गरिएको थियो । अन्तर्राष्ट्रिय उड्डयनमा ‘७५००’ कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग हुन्छ ।
विमानमा २७ बालबालिकासहित १७४ जना यात्रु सवार रहेको जनाइएको छ ।
आपत्कालीन संकेत प्राप्त भएपछि इजरायली सुरक्षा निकायले विमानको अवस्थालाई गम्भीर रूपमा लिएको थियो । इजरायली लडाकु विमानहरूलाई समेत तयारी अवस्थामा राखिएको बताइएको छ ।
यस घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले उच्चस्तरीय सुरक्षा परामर्श गरेका थिए ।
विमानलाई अन्ततः साउदी अरबको ताबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो । विमान सुरक्षित रूपमा त्यहाँ अवतरण गरेपछि प्रारम्भिक रूपमा देखिएको अपहरणको आशंका हटेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
विमानभित्र पाइलटहरूबीच के कारणले विवाद भयो भन्ने विषय भने तत्काल सार्वजनिक गरिएको छैन । फ्लाइदुबईले घटनाको विस्तृत कारणबारे तत्काल आधिकारिक जानकारी सार्वजनिक नगरेको रिपोर्टहरूमा उल्लेख छ ।
घटनापछि सावधानीस्वरूप इजरायलको बेन गुरियन विमानस्थलबाट हुने केही उडानसमेत केही समय प्रभावित भएका थिए ।
सम्बन्धित अधिकारीहरूले विमानमा भएको घटनाको थप अनुसन्धान गरिरहेका छन् ।
‘७५००’ आपत्कालीन कोड प्रसारण भएपछि अपहरणको आशंका, विमान साउदी अरबको ताबुकमा सुरक्षित अवतरण