
काठमाडौं । बङ्गालको खाडीको पूर्वी भूभागमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्हरूले बताएका छन्।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् टेकबहादुर धामीका अनुसार उत्तर अण्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ। उक्त प्रणाली क्रमशः बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको उनले बताए।
मौसमविद् धामीका अनुसार उक्त प्रणाली असोज ७ गते आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने सम्भावना छ। त्यसको असर नेपालमा समेत पर्न सक्ने भएकाले विभागले मौसम प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।
आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना तथा पूर्वानुमान अद्यावधिक गरिने विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
आगामी २४ घण्टामा देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै पहेँलो चेतावनी जारी गरेको छ।
विभागले न्यून चापीय प्रणालीको प्रभाव र मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन आधिकारिक सूचना तथा मौसम पूर्वानुमान नियमित रूपमा हेर्न आग्रह गरेको छ।