
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैँसेपाटीमा भारतीय ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्।
आज बिहान करिब ५ः३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट HR 38 AL 1634 को ग्यास बुलेटले सोही दिशामा गइरहेको बा.प्र. ०१-०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ घर भएका एकै परिवारका तीन जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये ९ वर्षीय जुवास बुढाथोकीलाई अस्पताल पुर्याउनासाथ बिहान करिब ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा बालकका बुबा २९ वर्षीय चन्द्र बुढाथोकी र आमा २७ वर्षीया रेणुका राई घाइते भएका छन्। उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। ग्यास बुलेटका चालक भारतका ३७ वर्षीय शिवजी रामलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।