२०८२ श्रावण १६, बिहिबार

स्वास्थ मन्त्रीको एक बर्ष

बागमती स्वास्थ्य मन्त्री थापाको एक वर्ष कार्याकाल

पदबहाली गरेको एक वर्ष पुगेको अवसरमा हेटौँडामा आयोजित पत्रकार भेटघाट
बागमती स्वास्थ्य मन्त्री थापाको एक वर्ष कार्याकाल

हेटौँडा, साउन १० । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका कार्यक्रम एवम् आगामी आर्थिक वर्ष २०८२/०८३ का प्रमुख कार्यक्रमहरू सार्वजनिक गरेको छ । पदबहाली गरेको एक वर्ष पुगेको अवसरमा हेटौँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री किरण थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि अभियान, एक जिल्ला, एक स्वस्थ सहर र एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कार्यक्रम प्रदेशभर सुरु गर्ने पनि उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।प्रदेशको स्वास्थ्य प्रणालीमा भएको सीमितता र पहुँचको अभावलाई हटाउँदै नीतिगत सुधार, सेवा सुदृढीकरण, पूर्वाधार विस्तारलगायतको कामलाई निरन्तरता दिने मन्त्री थापाले बताउनुभएको छ । कार्यक्रममा मन्त्री थापाले आमजनताले महसुस गर्ने गरी सेवा दिन कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

drishtinepal

स्वास्थ्य मन्त्रालयका काम चुस्त बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन संशोधन गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । स्वास्थ्य संस्था सञ्चालन, सेवा स्तरोन्नति, नवीकरण तथा अनुमति प्रणालीलाई व्यवस्थापन गर्न नियमावली तथा मापदण्डहरू बनाइएर अनलाइन प्रणालीबाट काम सुरु भएको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारले रसुवा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक जस्ता दुर्गम जिल्लाहरूमा विशेषज्ञ चिकित्सक प्रोत्साहनसहित परिचालन गरेको पनि मन्त्री थापाले बताउनुभयो । ‘अब जनताले विशेषज्ञ सेवाका लागि काठमाडौं धाउनु पर्दैन, विशेषज्ञ डाक्टरसहित सेवा प्रदेश अस्पतालमा पुग्नेछ’, मन्त्री थापाले भन्नुभयो । प्रदेश सरकारले २१ प्रकारका आयुर्वेद औषधिहरू उत्पादन र वितरण गर्दै वैकल्पिक चिकित्सा प्रवर्द्धन थालेको उहाँले जानकारी दिनुभयो । यस अघि ११ प्रकारका औषधि उत्पादन गर्दै आएको औषधि उत्पादन केन्द्रले केही महिना भित्र नै २१ प्रकारका औषधि उत्पादन गर्ने पनि मन्त्री थापाले जानकारी दिनुभयो ।

यसै गरी प्रदेश योग समिति गठन गरेर योग, ध्यान, प्राणायामलाई वैधानिकता र गुणस्तरीयता दिने काम सुरु भएको मन्त्री थापाले बताउनुभयो । विशेषज्ञ आयुर्वेद सेवा विस्तार गरी अन्तरङ्ग सेवा समेत नुवाकोट, चितवनमा सुरु भइसकेको जानकारी दिँदै अन्य स्थानमा सुरु गरिने उहाँको भनाइ छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएमएलटी, बिएएसी नर्सिङ, बिफर्मा, एमडी लगायतका विषय पढाइ हुने पनि कार्यक्रममा उहाँले जानकारी दिनुभयो । कार्यक्रममा हाल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा ३ सय शय्या, सिन्धुली, धादिङ, नुवाकोटमा १ सय शय्या, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा ५० शय्या, रसुवा, टोखा, वज्रवाराहीमा २५ शय्यामा अस्पताल सञ्चालन भइरहेको मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

यी अस्पतालहरूमा इएमआर् इएचआर एमएसएस सेवा मापदण्ड, क्लिनिकल अडिट र डिजिटल सेवा प्रणाली लागू गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने सेवा दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । बर्थिङ सेन्टरहरूको सशक्तीकरणसँगै गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइएको पनि सचिव डा. गौतमले बताउनुभयो ।

एक जिल्ला, एक स्वस्थ सहर, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था जस्ता कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ । अटिजम, थालसेमिया, सेरेब्रल पाल्सी, हेमोफिलिया लगायतका अनुवांशिक रोगहरूको निःशुल्क उपचारका लागि पनि प्रदेश सरकारले काम गरिरहेको छ । त्यस्तै, विपन्न, अपाङ्ग, लोपोन्मुख जाति र महिला स्वास्थ्य स्वयंसेविकाका लागि बिमा र सम्मान कार्यक्रम निरन्तर जारी राखेको सचिव डा. गौतमले बताउनुभयो ।

गौतमले स्वास्थ्य मन्त्रालय अन्तर्गत हाल ४६ वटा संस्थागत संरचनाहरू रहेको बताउँदै मन्त्रालयले हालै स्वास्थ्य सेवा ऐन, नियमावली, कार्यविधि, मापदण्ड, मार्गदर्शन लगायतका विभिन्न कानुनी तथा प्राविधिक दस्ताबेजहरू निर्माण तथा संशोधन गरिरहेको जानकारी दिनुभयो । गौतमले मन्त्रालयबाट चालु आर्थिक वर्षमा प्रगति भएको गतिविधि र आगामी वर्षको कार्यक्रमका विषयमा समेत जानकारी समेत दिनुभयो ।

सो क्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटु रोग उपचार सेवा र भक्तपुरमा मस्तिष्क रोगसम्बन्धी सेवा विस्तार गरिने जानकारी दिइएको छ । नर्सिङ विषयको प्रमाणपत्र तहको अध्ययन प्रादेशिक अस्पतालहरूमा सञ्चालन हुने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा लगायतको सहभागिता रहेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस