
१९ असोज, बागलुङ । बागलुङमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सोमबार बिहान सडक स्तरोन्नतिको काम भइरहेको बेला माथिबाट अचानक माटोको ढिस्को खस्दा मजदुरहरू पुरिएका हुन् ।
झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा बिहान करिब ७ः२० बजे लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माटोको ढिस्को खसेको थियो ।
ढिस्कोमा पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको हो । दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला पारिएको जनाइएको छ ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।