
चितवन । बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनको मुन्द्रा निकालेको अभियोगमा पक्राउ परेका दुई जनासँग जिल्ला अदालत चितवनले जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मदन गुरुङ र उमेश चौधरीलाई जनही २५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको महिलाको शव भरतपुर महानगरपालिका–२ स्थित नारायणी नदी किनारमा अडिएको थियो । बाढी हेर्न पुगेका गुरुङ र चौधरीले शवको कानमा रहेको सुनको मुन्द्रा बाँसको लाठीको सहायताले निकालेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
घटनाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरूको साथबाट चारवटा सुनका मुन्द्रासमेत बरामद गरेको थियो ।
अदालतको मिसिलअनुसार दुवैले बयानका क्रममा मुन्द्रा निकालेपछि दुई–दुई वटा बाँडेको स्वीकार गरेका छन् ।
प्रहरीको किटानी प्रतिवेदन, बरामदी मुचुल्का, सामाजिक सञ्जालमा सार्वजनिक भएको दृश्य तथा प्रतिवादीहरूको बयानलाई आधार बनाएर अदालतले तत्काल थुनामा राख्न आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो ।
अदालतले दुवै जनालाई जनही २५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।