
झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४ः१० बजे भएको आगलागीमा परी क्यान्टिनमा काम गर्दै आएका ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो। उनी झापाको गौरीगञ्ज गाउँपालिका–२ निवासी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन्। क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
त्यस्तै, ग्यारेजसँगै जोडिएको मार्बल तथा टायल्सको गोदाममा समेत आगोको असर परेको छ। दमकलबाट आगो निभाउने क्रममा गोदाममा रहेका २० देखि २५ बोरा सिमेन्ट भिज्दा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।