
१३ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्रै सञ्चालनमा आएका छन् ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले सडकमा क्षति पुर्याएको स्थानमा डाइभर्सन निर्माण गरेपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
बाढीका कारण नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ को माम्तीमा रोशी खोलाले अस्थायी डाइभर्सन बगाएको थियो । यस्तै, नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको थियो ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी दुई स्थानमा डाइभर्सन निर्माण गरिएको छ ।
अहिले साना सवारीसाधन सञ्चालनमा आए पनि ठूला तथा मालवाहक सवारीसाधनका लागि भने केही समय पर्खनुपर्ने भएको छ । दिउँसोदेखि सबैखाले सवारीसाधन पूर्ववत् रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको कार्यालयले जनाएको छ ।
६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबस सञ्चालनका लागि भने अझै केही घण्टा पर्खनुपर्ने बताइएको छ ।