
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीका कारण विभिन्न गाउँमा व्यापक क्षति पुगेको छ ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
आइतबार बिहान करिब ४ बजेतिर बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ अन्तर्गतका बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्याएको उपाध्यक्ष गुरुङले बताइन् ।
बाढीको जोखिम बढेपछि स्थानीय प्रशासनले अन्य क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा थप क्षतिको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।