
२२ असोज, म्याग्दी । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकखण्डको अधिकांश भागमा यातायात सञ्चालनको तयारी गरिएको छ ।
बाढी र पहिरोका कारण सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो । हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा कालीगण्डकीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका–२, कुनौटाबाहेक अन्य सबै अवरुद्ध स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
अवरुद्ध स्थानमा ट्रयाक खुलेसँगै सडक स्तरोन्नति तथा आवश्यक मर्मतसम्भारको काम निरन्तर भइरहेको जनाइएको छ ।
पोखरेबगरमा कालीगण्डकीले बगाएको पुलको एप्रोच सडक निर्माणका लागि ग्याबियन टो–वाल निर्माण गरी सडकतर्फ माटो भर्ने काम भइरहेको छ ।
त्यस्तै रघुगङ्गा गाउँपालिका–२ को कुनौटामा एक्साभेटर प्रयोग गरी सडकको ट्रयाक खोल्ने काम तीव्र गतिमा अघि बढाइएको छ ।
दुवै स्थानमा सडक सञ्चालनका लागि आवश्यक कामलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ ।
पोखरेबगर र कुनौटामा भइरहेको कामलाई तीव्रता दिएर आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।
वर्षाका कारण बाढी र पहिरोले सडकमा ठूलो क्षति पुर्याएपछि अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले निरन्तर काम गरिरहेको छ ।
सडक खुलेसँगै म्याग्दी, मुस्ताङलगायत हिमाली क्षेत्रका स्थानीयको आवतजावत तथा ढुवानी सेवा सहज हुने अपेक्षा गरिएको छ ।