
काठमाडौं । लगातार भइरहेको वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै भक्तपुरका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल गुह्येश्वरी भक्तपुरले बिहानैदेखि मनोहरा र हनुमन्ते खोलालगायत विपद् जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको हो।
भक्तपुरमा हनुमन्ते र मनोहरा खोलाका कारण राधेराधे, बालकोट, दिव्यश्वरी जग्गा एकीकरण क्षेत्र, नयाँठिमी, क्यामेरोटार र निकोसेरा लगायतका क्षेत्र डुबानको जोखिममा पर्ने गरेका छन्।
सम्भावित बाढी तथा डुबानबाट जोगिन खोला किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
वर्षाको अवस्था हेरी जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्नसमेत आग्रह गरिएको छ।