२०८३ आश्विन ५, सोमबार

रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिन रास्वपाको आग्रह

भोटेकोशी बाढी
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिन रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

आइतबार पार्टी कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको कामलाई थप तीव्रता दिन सरकारसँग आग्रह गरेको हो।

बैठकपछि निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता जगदीश खरेलले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम भइरहेको जानकारी दिए। उनका अनुसार अब पुनर्स्थापना तथा पुनर्निर्माणको काम सुरु हुन लागेको जानकारी सरकारमा सहभागी मन्त्री तथा पदाधिकारीबाट प्राप्त भएको छ।

पार्टीले प्रभावित क्षेत्रमा कुनै पनि किसिमको कमजोरी हुन नदिन सरकारलाई आग्रह गरेको छ। बेपत्ता व्यक्तिको शव पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणलाई छिटो अघि बढाउनुपर्ने तथा पीडित परिवारले राहतको अनुभूति गर्ने गरी सहयोगका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने रास्वपाको माग छ।

बेपत्ताको अवस्था छिटो टुंग्याउन माग

रास्वपाले अझै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र धेरै परिवार पीडामा रहेको उल्लेख गर्दै उनीहरूको अवस्थाबारे छिटो टुंगो लगाउन माग गरेको छ।

राज्यका कानुनी अड्चन भए कानुन संशोधन गरेर भए पनि मृत्यु प्रमाणपत्र उपलब्ध गराउनुपर्ने पार्टीको धारणा छ। साथै परिवारको सहमतिमा राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका काममा सरकारले सहजीकरण गर्नुपर्ने रास्वपाले जनाएको छ।

मधेस प्रदेश अधिवेशनबारे पनि छलफल

बैठकमा मधेस प्रदेशको अधिवेशनका क्रममा देखिएका आन्तरिक समस्याबारे समेत छलफल भएको थियो।

सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को हप्ता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए।

त्यस्तै, पार्टीले अनुशासन आयोग र केही विभागमा नयाँ सदस्य मनोनयन गरेको छ। उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबाट प्राप्त उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको थियो।

स्थगित गतिविधि सुचारु गर्ने निर्णय

भोटेकोशी बाढीको विपद्का कारण स्थगित भएका पार्टीका औपचारिक तथा नियमित गतिविधि पुनः सुचारु गर्ने निर्णय पनि बैठकले गरेको छ।

पार्टी सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्री, निर्वाचित सांसद तथा पार्टी नेताहरूको आचरण सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्न निर्देशन दिएको रास्वपाले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस