२०८३ आश्विन २०, मंगलबार

कपिलवस्तु

मध्यराति दुई वर्षीय बालक लिएर भाग्न खोजेको आरोपमा भारतीय महिला स्थानीयको नियन्त्रणमा

बालक चोरी
मध्यराति दुई वर्षीय बालक लिएर भाग्न खोजेको आरोपमा भारतीय महिला स्थानीयको नियन्त्रणमा

१९ असोज, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ मधुनगरा गाउँमा मध्यराति दुई वर्षीय बालकलाई लिएर भाग्न खोजेको आरोपमा एक भारतीय महिला स्थानीयवासीको नियन्त्रणमा परेकी छन् ।

स्थानीयका अनुसार विनोद पासीका दुई वर्षीय नाति आनन्द पासीलाई आइतबार राति करिब २ बजे खाटमा सुतिरहेको अवस्थामा ती महिलाले लिएर भाग्न खोजेकी थिइन् ।

बालक लिएर भाग्दै गरेको अवस्थामा स्थानीयवासीले महिलालाई नियन्त्रणमा लिएका थिए । स्थानीयले उनलाई रातभर पोलमा बाँधेर राखेको र बिहान प्रहरीलाई खबर गरी जिम्मा लगाएको बताएका छन् ।

स्थानीयका अनुसार ती महिलाले आफू भारतको झारखण्ड निवासी भएको बताएकी छन् । उनको साथबाट ब्लेड र रस्सीसमेत बरामद भएको स्थानीयले दाबी गरेका छन् ।

तर, ती महिला बालक चोरीकै उद्देश्यले आएको हो वा घटनाको वास्तविकता के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि मात्रै स्पष्ट हुने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले स्थानीयले दिएको सूचनाका आधारमा महिलालाई प्रहरी कार्यालयमा ल्याउन लागिएको बताएका छन् । प्रहरी कार्यालयमा ल्याएपछि घटनाबारे थप अनुसन्धान तथा सोधपुछ गरिने उनले बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेपछि मात्रै महिलामाथि लागेको आरोपको वास्तविकता स्पष्ट हुने प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस