
१३ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तयारी गरिएको छ ।
बैठकमा बाढीपीडितको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति तथा संघीय निजामती सेवा विधेयकलगायतका विषयमा छलफल हुने तयारी छ ।
सरकारले प्रशासन तथा प्राविधिकतर्फका सचिव बढुवाको तयारीसमेत गरेको स्रोतले जनाएको छ । यसअघि नै बढुवा समितिले प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सचिवका लागि सिफारिस गरिसकेको छ ।
त्यसैगरी प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस भएका छन् ।
सरकारले प्रशासन र प्राविधिक दुवै समूहबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
बैठकले सचिव बढुवासहित अन्य प्रशासनिक तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।