
काठमाडौं, ८ असोज । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।
खेलको पहिलो हाफमा नेपालले श्रीलंकामाथि १९–१३ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपाल १५–१२ ले अघि रहँदै समग्रमा ३४–२५ को जित निकाल्न सफल भयो।
यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनलमा प्रवेश गरेका हुन्।
सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले महिला कबड्डीमा पदक जित्ने पक्का गरेको छ। अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
यसअघि १९औँ एसियन गेम्समा नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।