२०८३ आश्विन २०, मंगलबार

विश्व बैंक

रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर
रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

२० असोज, काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने अनुमान गरिएको हो ।

विश्व बैंकले पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढ्दै जाँदा आर्थिक क्रियाकलापमा सुधार आउने अपेक्षा गरेको छ । आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने बैंकको प्रक्षेपण छ ।

विश्व बैंकको ‘भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’ शीर्षकको प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण नेपालको आर्थिक वृद्धि तथा उद्योग क्षेत्र बढी प्रभावित हुने उल्लेख गरिएको छ ।

जलविद्युत् र यातायातमा ठूलो असर

बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने विश्व बैंकको आकलन छ ।

कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव तुलनात्मक रूपमा सीमित रहने भए पनि प्रभावित क्षेत्रमा जनजीविकामा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बताए ।

उनले बाढीपछिको पुनर्निर्माणलाई पूर्वाधार, सडक, सञ्चार, ऊर्जा, खानेपानी, सरसफाइ, स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत सेवामा पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राख्दै पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

पुनर्निर्माणमा बहुविपद् जोखिमको मूल्यांकन गर्न सुझाव

नेपाल उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला क्षतिग्रस्त संरचना पुनर्स्थापना गर्नेमात्र नभई बहुविपद् जोखिमको अद्यावधिक मूल्यांकन गर्न विश्व बैंकले सुझाव दिएको छ ।

त्यसैगरी, पूर्वाधारको स्थान र डिजाइनमा सावधानी अपनाउन तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा थप वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

विपद् पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्नुपर्नेमा पनि विश्व बैंकले जोड दिएको छ । संकटासन्न घरपरिवारलाई विपद्पछिको सहायता छिटो उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्ने सुझावसमेत दिइएको छ ।

दक्षिण एसियाको वृद्धिदर ६.९ प्रतिशत रहने अनुमान

विश्व बैंकको पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदनले यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातप्रति दक्षिण एसियाको अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । सन् २०२७ मा भने क्षेत्रीय आर्थिक वृद्धिदर ६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रतिवेदनले कृत्रिम बौद्धिकता (एआई) को रणनीतिक प्रयोगमार्फत आर्थिक वृद्धिका नयाँ स्रोत निर्माण गर्न सकिने विषयसमेत विश्लेषण गरेको छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै पछाडि छ । व्यवसायहरूले भने बजारका नयाँ अवसर पहिचान गर्न एआईको प्रयोग बढाउँदै गएका छन् ।

विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउने, निर्यातका अवसर विस्तार गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने सम्भावना रहेको बताइन् ।

एआईको लाभ लिन जनशक्तिको सीप विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा भौतिक र डिजिटल पूर्वाधारमा सुधार गर्नुपर्ने विश्व बैंकको सुझाव छ ।

साना व्यवसायले एआई प्रयोग गर्दा सामना गर्ने अवरोध हटाउने, स्थानीय तहमा एआईसम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा तथ्यांकको सुरक्षा र गोपनीयता सुनिश्चित हुने गरी स्पष्ट नियामक संरचना निर्माण गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस