२०८३ भाद्र १७, बुधबार

राजनितिक

रसुवा बाढीपछि सुरुङ उद्धार कठिन भयो, अन्तर्राष्ट्रिय अनुभवभन्दा फरक अवस्था देखियो : प्रधानमन्त्री शाह

उद्धार कठिन प्रधानमन्त्री
रसुवा बाढीपछि सुरुङ उद्धार कठिन भयो, अन्तर्राष्ट्रिय अनुभवभन्दा फरक अवस्था देखियो : प्रधानमन्त्री शाह

काठमाडौं, भदौ १७ । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा परेको क्षति अन्तर्राष्ट्रिय स्तरमा देखिएका विपद्भन्दा फरक प्रकृतिको भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ र ढिलाइ भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको प्रारम्भमै सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै जलविद्युत् आयोजनाका सुरुङहरूमा सिर्जित संकट जटिल रहेको बताए।

उनले बाढीले सुरुङभित्र ठूलो मात्रामा लेदो, ढुंगा, बालुवा तथा अन्य सामग्री प्रवेश गराएको र त्यसले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको उल्लेख गरे। यस्ता प्रकृतिका घटनाहरू अन्तर्राष्ट्रिय अभ्यास तथा अनुभवसँग पूर्ण रूपमा नमिल्ने भएकाले प्राविधिक रूपमा पनि विशेष चुनौती सामना गर्नुपरेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए। साथै सुरुङभित्र फसेका वा बेपत्ता भएका व्यक्तिको खोजीका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा काम भइरहेको बताए।

प्रतिनिधिसभामा सम्बोधनका क्रममा उनले विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै प्रभावित परिवारप्रति सरकार संवेदनशील रहेको बताए।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना, सडक, पुल तथा बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी रहे पनि सुरुङ क्षेत्रका घटनालाई लिएर चासो र चिन्ता बढिरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस