धुनिवेशी १०, धादिङ । ‘धुनिवेशी नगरपालिकाको सम्बृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र व्यापार सहितको पुर्वाधार’ भन्ने मुख्य नारासहित धुनिवेशी नगरपालिकाका नगर बालकृष्ण आचार्यले मंगलबार १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
‘नगरवासीको जिवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणको माध्यमबाट सामाजिक न्याय सहित ‘सम्बृद्ध धुनिवेशी सुखी नगरवासी’को आकांक्षालाई मुर्त रुप दिनका लागी सहमती, सहकार्य र एकताको माध्यमबाट हातेमालो गरी अगाडी बढ्न हार्दिक अपिल गर्दछु’, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आचार्यले भने ।
‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय दिगो सोच एवम् लक्ष्यलाई स्थानीयकरण गर्ने लक्ष्यसहित नेपालको संविधान, सोह्रौँ योजना, दिगो बिकासका लक्ष्यहरु, सङ्घीय सरकार र बागमती प्रदेश सरकारको बजेट, नीति तथा कार्यक्रमहरु, धुनिवेशी नगरपालिकाको आवधिक योजना अघि सारिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाको मध्यमकालिन खर्च संरचना, निर्वाचनताका जनताका बिचमा प्रस्तुत गरिएको घोषणा पत्र र प्रतिबद्धता अनुसार नगरको आवश्यकता, संभावना, अवसर, चुनौति, स्रोत साधन परिचालन गर्न सक्ने क्षमता, स्रोत साधनको उपलब्धता समेतलाई आधार बनाई नीति तथा कार्यक्रम अघि सारेको नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
धुनिवेशी नगरवासीको उत्कट चाहाना र समयक्रम अनुरुपको आवश्यकतालाई सम्वोधन गर्ने लक्ष्य राखी तयार गरिएको नीति तथा कार्यक्रमले समग्रतामा संस्थागत संरचनाको पूर्णता, पुर्वाधार निर्माण एवं विकास, औद्योगिकरण र सुशासन युक्त नगर निर्माण गर्ने कार्यमा सघाउ पुर्याउने आशा एवं विश्वास लिएको नगर प्रमुख आचार्यले बताए ।
‘धुनिवेशी नगरपालिकाको वित्तीय लगानी नभएतापनि धुनिवेशी नगरक्षेत्र भित्र निर्माण भईरहेको राष्ट्रिय गौरबका आयोजनाहरु नागढुङ्गा सुरुङमार्ग, धार्केदेखी नौविसे सम्मको पृथ्वी राजमार्ग, नौबिसेदेखी सिस्नेखोला खण्डको त्रिभुवन राजपथ, धार्के सितापाईला वैकल्पिक राजमार्ग, भिमढुङ्गा लामिडाँडा गल्छी सडकको ठूलोखोला देखी जिवनपुर खण्ड, बाढभञ्ज्याङ काफलचौर सोलढुङ्गा सडक खण्ड निर्माण सम्पन्न हुने क्रममा पुगेको छ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
‘राष्ट्रिय गौरबका आयोजनाहरु निर्माण सम्पन्न गर्नका लागि वित्तिय लगानी मात्र पर्याप्त हुँदो रहेनछ । उक्त आयोजनाहरु निर्वाध रुपमा सञ्चालन हुने वातावरण सिर्जना गरिदिनु, समन्वय र सहजीकरण गरिदिनु महत्वपूर्ण पाटो हुँदो रहेछ । राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुँदा धुनिवेशी नगरपालिकाले समेत गौरव गर्न सक्ने, नगरवासीहरुको जिवनस्तरमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पर्ने र नगरवासीहरुले व्यापार व्यवसाय विस्तार गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा रोजगारी पाई आय आर्जनमा टेवा पुगेको छ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
‘नगर क्षेत्रमा उद्योग धन्दा कलकारखाना स्थापना गरी औद्योगिक हवका रुपमा विकास गर्न सकिने तथा काठमाण्डौँ उपत्यकाको नजिकमा रहेको हुँदा बैकल्पिक रुपमा बस्ती विकासको क्षेत्रको रुपमा विकसित घडेरीहरु निर्माण गरी शहरीकरण उन्मुख नगरपालिकाको रुपमा स्थापित गर्न सकिने देखी उल्लेखित राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा देखा परेका बाधा अवरोध एवं समस्याहरु समाधान गर्नमा धुनिवेशी नगरपालिकाले शसक्त रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरी आवश्यकता अनुसार समन्वय र सहजीकरण गर्दै आएका छौँ ।’
संघीय राजधानीको मुख्य प्रवेशद्वारमा धुनीवेशी नगरपालिकाले राष्ट्रिय गौरवका कार्यक्रम सफल पार्नेदेखि, शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्वमा खेलेका भूमिका र थप प्रतिबद्धतासहितको नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
सभा तस्वीर …….