

असोज ५ । कोरोना महामारीका बेला अक्सिजन अभाव टार्न रुकुमपूर्व अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट पाँच वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार सञ्चालनमा आउन सकेको छैन।
अस्पतालमै अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा, भैरहवा लगायतका बाहिरी जिल्लाबाट सिलिन्डर ल्याउनुपर्ने अवस्था रहेको छ। लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएको प्लान्ट नियमित सञ्चालनमा आउन नसक्दा सरकारी लगानीको प्रतिफलमाथि प्रश्न उठेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। टेन्डर प्रक्रियामार्फत करिब ७२ लाख रुपैयाँको लागतमा प्लान्ट जडान गरिएको अस्पतालको अभिलेखमा उल्लेख छ।
प्लान्ट जडानका बेला दैनिक ४० लिटर क्षमताका ३० देखि ३२ वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको बताइएको थियो। तर अहिले बिरामीलाई अक्सिजन आवश्यक पर्दा बाहिरबाटै सिलिन्डर ल्याउनुपर्ने अवस्था छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालले अस्पतालमै अक्सिजन उत्पादन गर्न सके उपचार सेवा सञ्चालनमा सहज हुने बताए।
‘यहाँ अक्सिजन उत्पादन भए धेरै सहज हुने थियो,’ उनले भने, ‘बिरामीको चाप बढिरहेको छ। आवश्यक पर्दा बाहिरबाट सिलिन्डर ल्याउनुपर्ने अवस्था छ।’
गत ३१ असारमा अविरल वर्षापछि आएको पहिरोले अक्सिजन प्लान्टमा क्षति पुगेको छ। सिस्ने गाउँपालिका–५ मा सडक खन्ने क्रममा थुपारिएको ढुंगामाटो वर्षाको पानीले बगाउँदा प्लान्टमा क्षति पुगेको डा. खरालले बताए।
उनका अनुसार पहिरोले अक्सिजन प्लान्टको बुस्टर पूर्णरूपमा क्षति पुगेको छ भने अन्य पार्टपुर्जामा समेत आंशिक क्षति पुगेको छ।
सडक विस्तारका क्रममा थुपारिएको ढुंगामाटो खसेर प्लान्टमा क्षति पुगेकाले सडक विस्तारमा संलग्न निकाय र निर्माण कम्पनीसँग क्षतिपूर्तिका लागि पहल भइरहेको उनले बताए।
पहिरोबाट क्षति पुगेपछि अहिले प्लान्टबाट अक्सिजन उत्पादन गर्न सकिने अवस्था छैन।
डा. खरालका अनुसार उनी अस्पतालमा आएको १५/१६ महिनाको अवधिमा करिब ५/६ महिना प्लान्टबाट अक्सिजन उत्पादन गरिएको थियो। तर विद्युत् नियमित नहुँदा उत्पादनलाई निरन्तरता दिन नसकिएको उनले बताए।
अक्सिजन प्लान्ट सञ्चालनका लागि अस्पतालमा दक्ष प्राविधिक जनशक्तिको समेत अभाव रहेको डा. खरालले बताए।
‘जेनेरेटरबाट प्लान्ट सञ्चालन गर्दा महँगो पर्न जान्छ। यसरी उत्पादन गर्नुभन्दा बाहिरबाट आपूर्ति गर्दा सस्तो पर्न जान्छ,’ उनले भने।
अस्पताल परिसरमा रहेका अक्सिजन उत्पादनसम्बन्धी उपकरण, पाइपलाइन तथा प्रेसर प्रणालीका संरचना प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कृष्ण खड्काले बताए।
उनले ठूलो रकम खर्च गरेर निर्माण गरिएको प्लान्ट नियमित सञ्चालनमा आउन नसक्नु राज्यको सम्पत्ति खेर जानु भएको बताए।
अस्पताल परिसरमा रहेको अक्सिजन प्लान्टमा बर्खे भलले क्षति पुर्याएपछि अस्पतालले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो।
निवेदनपछि प्रशासनले सिस्ने गाउँपालिकालाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताइन्।
उनका अनुसार जोखिमयुक्त स्थानमा रहेको अक्सिजन प्लान्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक विद्युत् व्यवस्था र प्राविधिक जनशक्तिसँग समन्वय भइरहेको उनले बताइन्।
‘अक्सिजन प्लान्ट जोखिमयुक्त स्थानमा रहेकाले त्यसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ प्रजिअ राईले भनिन्, ‘त्यसका लागि आवश्यक विद्युत् र प्राविधिक टिमसँग समन्वय भइरहेको छ।’
सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बर्खाको भलले प्लान्ट पूर्ण रूपमा बिगारेको अवस्था नरहेको बताए।
उनका अनुसार प्लान्ट विगतका वर्षदेखि नै नियमित प्रयोगमा थिएन।
‘वर्षातको समयमा आएको भलले प्लान्ट पूर्ण रूपमा बिगारेको भन्ने होइन,’ उनले भने, ‘यो प्लान्ट विगतका वर्षदेखि नै प्रयोगमा थिएन। सडकबाट भल आएर क्षति पुगेको विषयमा प्रहरीले मुचुल्का बनाएको रहेछ।’
अक्सिजन प्लान्ट अस्पतालको मात्र नभई जिल्लाकै स्वास्थ्य सेवासँग जोडिएको विषय भएकाले गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए।
‘यो गाउँपालिकाले मात्र बनाउने वा हेर्ने विषय होइन, सबैको साझा दायित्व हो,’ उनले भने, ‘त्यसैले गाउँपालिकाले प्लान्ट आसपास थुप्रिएको माटो हटाउन जनशक्ति परिचालन गरेको छ।’
पहिरोबाट क्षति पुगेको अक्सिजन प्लान्टको सरसफाइको काम पछिल्ला केही दिनदेखि जारी रहेको डा. खरालले बताए।
प्लान्टमा थुप्रिएको ढुंगागिट्टी र माटो हटाउने काम भइरहेको छ। सम्बन्धित पक्षले पहिरोले थुपारेको ढुंगामाटो हटाइरहेको र केही दिनमा सरसफाइको काम सकिने अस्पतालले जनाएको छ।