
भैरहवा । रुपन्देही जिल्लामा गत असोज महिनामा विभिन्न प्रकृतिका १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सो अवधिमा संगठित तथा आर्थिक अपराधका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्।
प्रहरीका अनुसार असोज महिनामा ज्यानसम्बन्धी २७, आत्महत्यासम्बन्धी १६, चोरीका ७, संगठित तथा आर्थिक अपराधका ४९, सामाजिक अपराधका ६, महिला तथा बालबालिकासम्बन्धी ११, सवारीसम्बन्धी १४ र विविध २ वटा मुद्दा दर्ता भएका छन्।
८० फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनतर्फ प्रहरीले ८० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट १ करोड ९ लाख ६ हजार ३ सय ७१ रुपैयाँ जरिवाना तथा ६ वर्ष ७ महिना ८ दिन कैद सजाय असुलउपर भएको प्रहरीले जनाएको छ। त्यस्तै, चालु मुद्दाका ११३ जना प्रतिवादी पक्राउ परेका छन्।
महिला तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घरेलु हिंसाका ९५ वटा र छिमेकीबीचको झगडासम्बन्धी ५३ वटा ठाडो निवेदन दर्ता भएका छन्। तीमध्ये घरेलु हिंसाका ७३ र ठाडो निवेदनका ४७ वटा घटनामा मिलापत्र भएको प्रहरीले जनाएको छ।
लागूऔषध मुद्दामा १७ जना पक्राउ
असोज महिनामा लागूऔषधसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरूबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको उनले बताए।
आत्महत्याका १६ घटना, १४ पुरुषको मृत्यु
रुपन्देहीमा असोज महिनामा आत्महत्याका १६ वटा घटना भएका छन्। आत्महत्या गर्नेमा १४ जना पुरुष र २ जना महिला रहेका छन्।
१७५ सवारी दुर्घटना, २९२ जना घाइते
असोज महिनामा जिल्लाभर १७५ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने २९२ जना घाइते भएका छन्।
प्रहरीले सवारी चेकजाँचका क्रममा ३ हजार २१९ वटा सवारीसाधनमाथि कारबाही गरेको छ। उक्त कारबाहीबाट ५५ लाख ८८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
भन्सार छलीमा ९ जना पक्राउ
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १ करोड ७० लाख ३२ हजार ४५ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। भन्सार छलीमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गर्नुका साथै २५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।
यसैगरी, असोज महिनामा रुपन्देहीमा विपद्सम्बन्धी २१ वटा घटना भएका छन्। कार्यक्षमताका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको डीएसपी चन्दले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अपराध नियन्त्रण, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण, सवारी व्यवस्थापन तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।