२०८३ भाद्र १४, आईतबार

राजमार्ग अनिश्चित बन्द

लाइफलाइन पृथ्वी राजमार्ग अनिश्चितकालका लागि अवरुद्ध, कृष्णभिर कटानपछि सडक भासियो

कृष्णभिर पहिरो
लाइफलाइन पृथ्वी राजमार्ग अनिश्चितकालका लागि अवरुद्ध, कृष्णभिर कटानपछि सडक भासियो

धादिङ, भदौ १४ — राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–चरौंदीस्थित कृष्णभिर खण्ड फेरि संकटमा परेको छ। आइतबार आएको बाढीका कारण त्रिशूली नदीले सडकको तलपट्टि तीव्र कटान गरेपछि राजमार्गको एक भाग पूर्ण रूपमा भासिएको छ।

drishtinepal

सडक भासिएसँगै पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने यातायात सेवा अनिश्चितकालका लागि प्रभावित हुने अवस्था सिर्जना भएको छ। सम्बन्धित निकायले सडक पुनः सञ्चालन कहिलेदेखि सम्भव हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिन सकेका छैनन्।

वर्षौंदेखि कृष्णभिर क्षेत्रमा पहिरो र भूक्षयले यात्रु तथा यातायात व्यवसायीलाई सास्ती दिँदै आएको थियो। पछिल्ला केही वर्ष पहिरो नियन्त्रण भएपछि यात्रुले केही राहत महसुस गरेका थिए। तर यसपटक नदी कटानका कारण सडक नै भासिएपछि समस्या झन् जटिल बनेको छ।

पृथ्वी राजमार्ग देशको प्रमुख व्यापारिक तथा आपूर्ति मार्गका रूपमा परिचित छ। यही मार्ग हुँदै काठमाडौं उपत्यकामा खाद्यान्न, पेट्रोलियम पदार्थ, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानी हुने गर्दछ। राजमार्ग लामो समय अवरुद्ध रहँदा आपूर्ति प्रणाली प्रभावित हुने, बजारमा कृत्रिम अभाव सिर्जना हुने तथा मूल्यवृद्धिको जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।

यसअघि भदौ १० गते भोटेकोशी नदीको बाढीका कारण यही राजमार्ग तीन दिनसम्म अवरुद्ध भएको थियो। लगातारको प्राकृतिक विपद्का कारण पृथ्वी राजमार्गमा यात्रा तथा ढुवानी व्यवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ।

भिडियो लिंक

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस