२०८३ आश्विन १४, बुधबार

पोखरी संरक्षण

लोप हुने अवस्थामा पुगेको देवान पोखरीको हुँदैछ सौन्दर्यीकरण, संरक्षणमा चुनौती

देवान पोखरी सौन्दर्यीकरण
लोप हुने अवस्थामा पुगेको देवान पोखरीको हुँदैछ सौन्दर्यीकरण, संरक्षणमा चुनौती

१४ असोज, जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको ऐतिहासिक सहर हो । माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधाममा रहेका मठमन्दिर, कुटी तथा पोखरीहरूले यसको धार्मिक र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएका छन् ।

तर पछिल्लो समय संरक्षणको अभाव, अतिक्रमण र फोहोर व्यवस्थापनमा देखिएको कमजोरीका कारण जनकपुरधामका धेरै ऐतिहासिक पोखरीहरू संकटमा परेका छन् । ‘५२ कुटी ७२ कुण्ड’को उपमा पाएको जनकपुरधाममा रहेका कतिपय पोखरी लोप भइसकेका छन् भने केही लोप हुने अवस्थामा पुगेका छन् ।

जनकपुरधाम–३ मा रहेको देवान पोखरी पनि लामो समयदेखि संरक्षणको अभावमा अस्तित्व संकटमा परेको पोखरीमध्ये एक हो । सहरको बीच भागमा रहेको पोखरीको डिल अतिक्रमण गरेर घरटहरा निर्माण गरिएका छन् भने पोखरीको चारैतिर फोहोरको थुप्रो देखिने गरेको छ ।

पोखरीमा पानीको मात्रा कम हुँदै गएको र फोहोरको मात्रा बढ्दै गएपछि यसको संरक्षणमा चुनौती थपिएको स्थानीयहरू बताउँछन् । पोखरी आसपासको अवस्था हेर्दा स्थानीयवासी तथा व्यापारिक क्षेत्रबाट समेत फोहोर फाल्ने गरिएको देखिन्छ ।

अहिले भने जनकपुर उपमहानगरपालिकाले देवान पोखरीको संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढाएको छ । नगरस्तरीय योजनाअन्तर्गत पोखरीको सौन्दर्यीकरण तथा पुनर्निर्माणको काम भइरहेको हो ।

सौन्दर्यीकरणका क्रममा पोखरीमा रहेको पानी घटाएर सफाइ गर्ने काम अघि बढाउँदा लामो समयदेखि पोखरीभित्र थुप्रिएको फोहोर बाहिर निकालिएको छ । पोखरीको चारैतिर थुप्रिएको फोहोरले यसको विगतको अवस्थासमेत प्रस्ट देखाएको छ ।

पोखरी रहेको गल्लीमा मोबाइल मर्मत केन्द्र सञ्चालन गर्दै आएका एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा पोखरीको सौन्दर्यीकरणको काम भइरहे पनि रातको समयमा आसपासमा फोहोर फाल्ने क्रम नरोकिएको बताए ।

‘पोखरीको सौन्दर्यीकरणको काम अगाडि बढेको छ, तर अहिले पनि राति त्यही वरपर फोहोर फाल्ने गरिएको छ । अनि कसरी होला त पोखरी सौन्दर्यीकरण ?’ उनले भने ।

उनका अनुसार नगरवासीमा आफ्नो घरसँगै सार्वजनिक स्थान पनि सफा राख्नुपर्छ भन्ने चेतना नआएसम्म पोखरी तथा समग्र जनकपुरधामको सरसफाइमा सुधार ल्याउन कठिन हुनेछ ।

देवान पोखरीको सौन्दर्यीकरणका लागि भ्याटबाहेक २ करोड ३७ लाख ६५ हजार ७ सय ४४ रुपैयाँ कुल लागत तोकिएको छ । आयोजनाको निर्माण ठेक्का सुशान्त–सावन जेभी जनकपुर–१५ ले पाएको छ ।

सम्झौताअनुसार २०८३ जेठ १८ गतेबाट काम सुरु गरी २०८४ जेठ ३१ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने उल्लेख छ । सम्झौता भएको करिब चार महिना बित्न लाग्दा पनि कामको गति र पोखरीको अवस्थालाई लिएर स्थानीयवासीले तोकिएको समयमै आयोजना सम्पन्न हुनेमा आशंका व्यक्त गर्न थालेका छन् ।

यसैबीच जनकपुरधाममा ऐतिहासिक पोखरी संरक्षणको अभियान पनि अघि बढाइएको छ । गुठी संस्थानका अनुसार जनकपुरधाममा रहेका ४९ वटा पोखरीमध्ये पाँच वटा पौराणिक पोखरी नक्साबाटै हराइसकेका छन् । जनक सरोवर, अमृत कुण्ड, पयश्विनी सर, बलदेव सर र गोपाल सर पूर्णरूपमा लोप भइसकेको उच्चस्तरीय कार्यदलको प्रतिवेदनले औँल्याएको छ ।

पोखरी संरक्षणका लागि अहिले अतिक्रमण हटाउने अभियानसमेत अघि बढाइएको छ । पहिलो चरणमा सात वटा पोखरीको डिल अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ भने दोस्रो चरणमा थप १५ वटा पोखरीको डिल अतिक्रमण हटाउने तयारी गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका पोखरीहरू संरक्षण हुन नसक्दा जनकपुरधामको मौलिक पहिचान नै संकटमा पर्ने स्थानीयको चिन्ता छ । त्यसैले अहिले भइरहेको सौन्दर्यीकरणसँगै दीर्घकालीन संरक्षण, अतिक्रमण नियन्त्रण र फोहोर व्यवस्थापनमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस