२०८३ आश्विन २३, शुक्रबार

विद्युतीय सार्वजनिक सवारीको भाडा समायोजन, बढी भाडा लिए ११११ मा उजुरी गर्न सकिने

विद्युतीय सार्वजनिक सवारीको भाडा समायोजन, बढी भाडा लिए ११११ मा उजुरी गर्न सकिने

असोज, काठमाडौं । सरकारले अन्तरप्रदेशमा सञ्चालन हुने विद्युतीय शक्तिबाट चल्ने सार्वजनिक सवारीसाधनको छोटो, मध्यम तथा लामो दूरीको भाडा दर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडा दर सार्वजनिक गरेको हो ।

विभागका अनुसार तराई तथा पहाडी सडकमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीसाधनको प्रतिकिलोमिटर भाडा दरमा परिमार्जन गरिएको छ ।

तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढीको पक्की तथा ग्राभेल सडकमा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा प्रतिव्यक्ति प्रतिकिलोमिटर २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा निर्धारण गरिएको विभागले जनाएको छ ।

यसैगरी, काठमाडौं–पोखरा र पोखरा–नारायणगढ सडक खण्डमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा भाडा कायम गरिएको छ ।

विभागका अनुसार डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारीसाधनले तोकिएको सामान्य भाडा दरमा २० प्रतिशत थप रकम लिन सक्नेछन् । त्यस्तै, सुपर डिलक्स सुविधा लिएका सवारीसाधनले डिलक्सको भाडा दरमा थप २० प्रतिशत रकम जोडेर लिन पाउने व्यवस्था गरिएको छ ।

विद्यार्थी र ज्येष्ठ नागरिकलाई अनिवार्य छुट

विभागले सार्वजनिक गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई तोकिएको दरमा अनिवार्य सहुलियत दिनुपर्नेछ ।

यस्तो सहुलियत दिँदा निश्चित रुट, कोटा वा दिन तोकेर सीमित गर्न नपाइने व्यवस्था गरिएको छ । सहुलियत प्राप्त गर्न यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ ।

त्यसैगरी, लामो दूरीका रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक तथा सहचालकले परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्ने विभागले जनाएको छ ।

तोकिएको भन्दा बढी भाडा लिने सवारीसाधनमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ । बढी भाडा लिएको पाइएमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन् ।

मालवाहक सवारीको भाडा पनि समायोजन

यात्रुवाहक सवारीसाधनसँगै मालवाहक ट्रकको भाडा दरसमेत समायोजन गरिएको छ । विभागका अनुसार तराई क्षेत्रमा मालवाहक सवारीको भाडा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

१० टन क्षमतालाई आधार मानेर विभागले विभिन्न रुटको भाडा दरसमेत निर्धारण गरेको छ ।

नयाँ दरअनुसार वीरगञ्ज–काठमाडौं पहाडी सडक खण्डमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौं खण्डमा ३२ हजार १४१ रुपैयाँ तोकिएको छ ।

विभागले तोकेको भाडा दर तथा आचारसंहिता पालना गर्न यातायात व्यवसायीलाई आग्रह गरेको छ । यात्रुले पनि तोकिएकोभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिएको अवस्थामा सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन्

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस