२०८३ आश्विन १३, मंगलबार

संघीय निजामती सेवा विधेयक नआएपछि संसद्मा प्रश्न, अध्यादेश ल्याउने तयारी हो भन्दै सांसदको खबरदारी

संघीय निजामती सेवा विधेयक नआएपछि संसद्मा प्रश्न, अध्यादेश ल्याउने तयारी हो भन्दै सांसदको खबरदारी

संघीय निजामती सेवा विधेयक
संघीय निजामती सेवा विधेयक नआएपछि संसद्मा प्रश्न, अध्यादेश ल्याउने तयारी हो भन्दै सांसदको खबरदारी

१३ असोज, काठमाडौं । सरकारले प्राथमिकतामा राखेको संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा अझै नआएपछि सांसदहरूले प्रश्न उठाएका छन् । सरकारले १०० बुँदे कार्यसूचीमा प्राथमिकतामा राख्दै ४५ दिनभित्र विधेयक ल्याउने बताएको भए पनि अहिलेसम्म संसद्मा नआएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरूले चालु संघीय संसद्को अधिवेशन अन्त्य गरेर संघीय निजामती सेवासम्बन्धी अध्यादेश ल्याउन लागिएको हो कि भन्ने आशंकासमेत व्यक्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले संसद्लाई छलेर निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउन खोजिएको भन्दै प्रश्न उठाइन् । उनले महत्वपूर्ण कानुन संसद्बाटै निर्माण गर्नुपर्नेमा अध्यादेशमार्फत ल्याउने तयारी भए त्यसप्रति आपत्ति जनाइन् ।

यसै साता संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको छ । यसअघि असोज १५ गतेसम्मको क्यालेन्डर बनाइएकोमा एक दिन थप गरी असोज १६ गतेसम्म पुर्‍याइएको छ ।

असोज १६ गतेसम्म संसद्मा रहेका विजनेसलाई टुंग्याउने तथा त्यसपछि अर्को बैठक राखेर अधिवेशन अवधिभर भएका कामकारबाहीको विवरण प्रस्तुत गर्दै चालु अधिवेशन अन्त्य गर्ने तयारी रहेको बताइएको छ ।

संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ बाट सुरु भएको थियो । यस अवधिमा सरकारले ल्याएका बजेट तथा बजेटसँग सम्बन्धित कानुन पारित भएका छन् । संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएका अध्यादेश पनि स्वीकृत भएका छन् । ती अध्यादेशले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत भई पारित भएर ऐनमा रूपान्तरण भएका छन् ।

यस्तै, मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुका साथै समसामयिक विषयमा सरकारका मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन ।

सांसद बलावती शर्माले पनि चालु अधिवेशनमा संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक आउन नसकेको विषय उठाइन् । एमाले सांसद गुरुप्रसाद बरालले सरकारको प्राथमिकता के हो भन्ने प्रश्न गरेका छन् ।

एमाले सांसद पुष्पराज कंडेलले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै प्रश्न उठाए । विगतमा अध्यादेशमार्फत १ हजार ५३४ जना सार्वजनिक पदाधिकारी पदमुक्त गरिएको उल्लेख गर्दै उनले सरकारले पुनः महत्वपूर्ण विषयमा अध्यादेश ल्याउन खोजेको हो कि भन्ने प्रश्न गरेका हुन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ वैशाख १९ गते जारी भएको थियो । उक्त अध्यादेशले ११० वटा प्रचलित ऐनमा संशोधन गरेको र त्यसबाट १ हजार ५३४ जना सार्वजनिक पदाधिकारी पदमुक्त भएको सांसद कंडेलले उल्लेख गरे ।

रिक्त रहेका पदमा नयाँ नियुक्ति नभइसकेको अवस्थामा सरकारले सोही अध्यादेशबाट खारेज भएका ११० मध्ये ८५ वटा ऐनमा साविककै व्यवस्था कायम गर्ने गरी विधेयक ल्याएको विषयमा समेत कंडेलले प्रश्न उठाए ।

उनले यसलाई पार्टीगत स्वार्थसँग जोडेर हेर्नुपर्ने दाबी गर्दै विगतको अध्यादेश र अहिले ल्याइएको विधेयकबारे सरकारसँग जवाफ मागे ।

संघीय निजामती सेवा विधेयकसहित महत्वपूर्ण विषयमा सरकारले अध्यादेशमार्फत कानुन ल्याउन खोजेको हो कि भन्ने आशंका व्यक्त गर्दै सांसदहरूले सरकारलाई खबरदारी गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस