
१८ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आज तान्जानिया जाँदैछन्।
असोज १९ गतेदेखि २३ गतेसम्म तान्जानियाको अरुशा शहरमा आयोजना हुने महासभामा सहभागी हुन सभामुख अर्यालले नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
सभामुख अर्याल आइतबार बेलुका ७ बजे कतार एयरवेजको क्यूआर ६४५ उडानमार्फत दोहा हुँदै तान्जानिया जाने कार्यक्रम रहेको छ।
प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी श्रीमती अम्बिका केसी, प्रतिनिधि सभाका सांसद रविन महतो तथा राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य रहेका छन्।
त्यस्तै, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयकी सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।
अरुशामा हुने महासभाको ‘जनरल डिबेट’ मा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ।
महासभामा इमर्जेन्सी एजेण्डाका रूपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ समेत तय गरिएको छ। यसको मूल विषय ‘हिमालयन क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु–सम्बन्धी विपद्हरूको सामना र उत्थानशीलता सुदृढ गरौँ’ रहेको छ। उक्त विषयमा नेपालले प्रस्ताव पेस गर्ने तयारी गरेको छ।
आईपीयूअन्तर्गतको एसियाली संसदीय सभामा राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीले सहभागिता जनाउनेछन्। यस्तै, दिगो विकास स्थायी समितिको एसिया–प्यासिफिक क्षेत्रबाट सहप्रतिवेदन तथा फोरम अफ वुमन पार्लियामेन्ट्रिजमा अञ्जान शाक्य सहभागी हुनेछिन् भने युवा सांसदहरूको फोरममा सांसद रविन महतो सहभागी हुनेछन्।
महासभामा सहभागी विभिन्न मुलुकका प्रतिनिधिमण्डलसँग नेपाली टोलीको साइडलाइन बैठकसमेत हुने कार्यक्रम रहेको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् महासचिव संघको बैठकमा संसदीय प्रणालीको संरचना, कोष तथा क्षमता निर्माणका विषयमा प्रस्तुति दिनेछन्।
आईपीयूको १५३औँ महासभा तथा सम्बन्धित बैठकमा सहभागिता जनाएपछि सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल केन्या जानेछ।
केन्याका सभामुख डा. मोसेस एम. वेताङउलाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली प्रतिनिधिमण्डलले केन्याको संसद्को औपचारिक भ्रमण गर्न लागेको हो।
केन्या भ्रमणसमेत पूरा गरी प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।