
काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ निवासी तथा रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राईले सहकारी ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन्।
न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासमा बयान दिने क्रममा राईले सहकारीमा तीनवटा डमी खाता सञ्चालनमा रहेको स्वीकार गरेका छन्।
उनका अनुसार सहकारीको सफ्टवेयरमा केही रकम तथा खातासम्बन्धी विवरण प्रविष्ट हुन नसकेपछि सञ्चालक समितिको निर्णयअनुसार डमी खाता बनाएर कारोबार गरिएको थियो।
राईले ‘एबी राई’ नाममा तीनवटा डमी खाता सञ्चालन गरिएको बयान दिएका छन्। उनका अनुसार एउटा खाता नेपाल रुरल डेभलपमेन्ट फाउन्डेशनको नवीकरण तथा कर तिर्न, अर्को बचतकर्ताको रकम सम्बन्धित खातामा इन्ट्री हुन नसक्दा अस्थायी रूपमा राख्न र तेस्रो कर्जा तथा अन्य कारोबारसँग सम्बन्धित रकम व्यवस्थापन गर्न प्रयोग गरिएको थियो।
उनले ती खाताहरू वास्तविक व्यक्तिको नाममा नभई कार्यालय सञ्चालनका लागि सञ्चालक समितिको निर्णयबाट खोलिएको दाबी गरेका छन्।
राईले आफूले सहकारीको रकम वा सम्पत्ति हिनामिना नगरेको दाबी गरेका छन्। बचत फिर्ता नपाएको भन्दै उजुरी गर्ने केही व्यक्तिले आफैंले लिएको ऋण तथा आफू जमानी बसेका ऋण चुक्ता नगरेको उनको भनाइ छ।
उनले सञ्चालक समितिको निर्णयअनुसार आफूले काम गरेको र आफूविरुद्ध झुटा आरोप लगाइएको दाबी गरेका छन्।
यद्यपि, सहकारी विभागबाट कारोबार नगर्न निर्देशन आएपछि पनि डमी खातामार्फत कारोबार भएको विषय भने राईकै बयानबाट खुलेको छ।
सहकारी ठगीसम्बन्धी मुद्दामा अदालतको प्रक्रिया अघि बढिरहेको छ।