२०८३ आश्विन १६, शुक्रबार

दुर्घटना समाचार

सिरहामा टिपरले ईभीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, पाँच घाइते

सिरहामा टिपर दुर्घटना
सिरहामा टिपरले ईभीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, पाँच घाइते

१६ असोज, सिरहा । सिरहाको कर्जन्हामा टिपरले यात्रुवाहक विद्युतीय गाडी (ईभी)लाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा शुक्रबार दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज. ०१२४ नम्बरको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी गोलबजार नगरपालिका–४ की करिब ४५ वर्षीया शोभाकुमारी यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टाउको र अनुहारमा गम्भीर चोट लागेकी यादवको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

दुर्घटनामा गम्भीर घाइते २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, गोलबजार नगरपालिका–६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

ईभी चालक धनगढीमाई नगरपालिका–२ का ३५ वर्षीय मन्जुर खान, गोलबजार नगरपालिका–४ की संगीता मण्डल र फुलकुमारी यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका सबैजना जितिया पर्वका व्रतालु थिए । जितिया पर्वमा ‘नुहाएर खाने’ दिन भएकाले उनीहरू कमला नदीमा नुहाउन जाने क्रममा ईभीमा यात्रा गरिरहेका थिए ।

दुर्घटनापछि प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस