
दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ। घाइतेमध्ये चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ। उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। अन्य घाइतेमा सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा रहेका छन्।
दुर्घटनापछि बेपत्ता भएका तीन जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको सिन्धुली प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुमो राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ प्रस्थान गरेको थियो। चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।