सुनकोशी दुर्घटनामा मृत्युु हुने तीन जनाको पहिचान खुल्यो
Post views: 12
- सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्। उनीहरू दसैँ मनाउन घर जाँदै गरेका थिए।
दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ। घाइतेमध्ये चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यस्तै, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ। उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
अन्य घाइतेमा सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा रहेका छन्। उनीहरूको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि बेपत्ता भएका तीन जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको सिन्धुली प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त सुमो राति ११ बजे काठमाडौंबाट खोटाङका लागि प्रस्थान गरेको थियो। चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।