
१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर देशव्यापी अभियानमा जाने तयारीमा जुटेको छ । पार्टीले २० असोजदेखि प्रत्येक पालिकामा पुगेर संगठन विस्तार, जनसम्पर्क र स्थानीय मुद्दा पहिचानलाई प्राथमिकता दिने अभियान अघि बढाउने भएको छ ।
रास्वपाले पछिल्लो समय स्थानीय तहमा संगठन विस्तार तथा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई समेत अघि बढाउँदै आएको छ । पार्टीले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा यसअघि नै स्वीकृत गरिसकेको छ ।
रास्वपाको असोज ४ गतेको सचिवालय बैठकले ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत संगठनात्मक र जनसम्पर्कका कार्यक्रम तत्काल अघि बढाउने निर्णय गरेको थियो ।
२० असोजदेखि सञ्चालन हुने अभियानमा पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय तहमा पुगेर नागरिकका समस्या, आवश्यकता तथा स्थानीय मुद्दाबारे जानकारी लिने र संगठनात्मक गतिविधिलाई थप विस्तार गर्ने तयारी गरिएको छ ।
रास्वपाले यसअघि नै स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट, संगठन विस्तार र स्थानीय तहमा पार्टी संरचना निर्माणको काम अघि बढाएको छ । पछिल्लो समय विभिन्न जिल्लामा पालिका संयोजक तोक्ने तथा स्थानीय तहमा संगठन विस्तार गर्ने कामसमेत भइरहेको छ ।
आगामी स्थानीय तह निर्वाचनमा पहिलोपटक व्यापक रूपमा सहभागी हुने तयारी गरिरहेको रास्वपाले स्थानीय तहमा उम्मेदवार छनोटलाई निश्चित विधि र प्रक्रियाबाट अघि बढाउने जनाएको छ ।