
२२ असोज, सुर्खेत । हिल्सा–सिमकोट सडकखण्डमा बाक्लो हिउँ जमेर आवतजावत अवरुद्ध भएपछि हुम्लाबाट चीनतर्फ गएका करिब ३०० नेपाली नागरिक तिब्बतको पुरङमा रोकिएका छन् ।
सडक अवरुद्ध भएपछि उनीहरू घर फर्किन नसकेर चीनतर्फै बस्न बाध्य भएका हुन् ।
पुरङमा रहेका साम चेनले अनलाइनमार्फत दिएको जानकारीअनुसार हुम्लाका विभिन्न स्थानीय तहका करिब ३०० नागरिक अहिले पुरङमा रोकिएका छन् । तीमध्ये नाम्खा गाउँपालिकाका मात्रै १५० भन्दा बढी नागरिक रहेको उनले बताएका छन् ।
हिल्साबाट सिमकोटतर्फ आउने सडक हिउँका कारण बन्द भएपछि घर फर्किन नसकेको र आफूहरूलाई उद्धारको व्यवस्था गर्नुपर्ने अवस्था आएको चेनले बताएका छन् ।
हुम्लाका विभिन्न पालिकाका नागरिकसँगै भारतबाट आएका केही नागरिकसमेत पुरङमा रोकिएको उनले जानकारी दिएका छन् ।
चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ङारी प्रिफेक्चरमा पर्ने पुरङ काउन्टी हुम्लाको हिल्सा नाकासँग जोडिएको प्रमुख व्यापारिक क्षेत्र हो ।
हुम्लाबाट व्यापार, रोजगारी तथा अन्य कामका लागि पुरङ पुगेका नेपालीहरू सडक अवरुद्ध भएपछि त्यहीँ रोकिएका हुन् ।
हिल्सा हुँदै सिमकोट फर्किने सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पैदल आवतजावतसमेत जोखिमपूर्ण बनेपछि नेपाली नागरिकहरू पुरङमै बस्न बाध्य भएका छन् ।
पुरङमा रोकिएका नागरिकका अनुसार हिउँ सफा गरेर सडक सञ्चालनमा नल्याएसम्म नेपाल फर्किन सम्भव छैन ।
लामो समयसम्म सडक अवरुद्ध हुँदा बसोबास, खानपान र अन्य दैनिक आवश्यकतासमेत प्रभावित हुन थालेको उनीहरूको भनाइ छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले हिल्सा–सिमकोट सडकमा हिउँ भएका कारण चीनतर्फ गएका व्यापारी तथा स्थानीयवासी उतै रोकिएको बताए ।
उनका अनुसार पुरङ क्षेत्रमा जमेको हिउँ सफा गरेपछि मात्रै हिल्सा हुँदै हुम्ला फर्किने अवस्था बन्नेछ ।
‘हिल्साबाट सिमकोट आउने सडकमा हिउँ भएका कारण व्यापारी तथा स्थानीयवासी ताक्लाकोटतर्फ रोकिएका छन् । बाटो नखुलेसम्म तत्कालका लागि समस्या छ,’ उनले भने ।
सडक अवरुद्ध भएपछि हुम्लाको उत्तरी क्षेत्रमा हुने व्यापारिक गतिविधि र स्थानीयको आवतजावतसमेत प्रभावित भएको छ । विशेषगरी चीनको पुरङ पुगेका नेपाली नागरिक सडक खुल्ने प्रतीक्षामा छन् ।
हिमपातका कारण लामो समयसम्म सडक खुल्न नसके पुरङमा रोकिएका नेपाली नागरिकको समस्या थप जटिल बन्न सक्ने देखिएको छ ।
नाम्खा गाउँपालिकाका मात्रै १५० भन्दा बढी नागरिक रहेको जानकारी आएपछि उनीहरूको अवस्थाबारे स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको छ ।
चीनतर्फ रोकिएका नागरिकले तत्काल सडक खुलाउन तथा सम्भव नभए वैकल्पिक माध्यमबाट उद्धारको व्यवस्था गर्न माग गरेका छन् ।
उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात भइरहेकाले सडक खुलाउन समय लाग्न सक्ने अनुमान गरिएको छ ।
हुम्लाका नागरिकका लागि हिल्सा–सिमकोट सडक नै मुख्य आवागमनको माध्यम भएकाले हिउँले सडक बन्द हुँदा त्यसको प्रत्यक्ष असर दैनिक जीवन, व्यापार र आवतजावतमा परेको छ ।
सडक तत्काल सञ्चालनमा नआए पुरङमा रोकिएका नेपाली नागरिकको समस्या अझ लम्बिने देखिएको छ ।